सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता 

१५ माघ २०८१, मंगलवार १५:०२

काठमाडौं। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

फेसबुक, टीकटक, युट्यूव, एक्स लगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ ।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने, राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, साइबर बुलिङ गर्न नहुने, साइबर स्टकिङ गर्न नहुने लगायतका विषय छन् ।

कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ । डिपफेक भिडियो अपलोड वा प्रसार गर्नुलाई पनि दण्डनीय मानिएको छ ।

उक्त विधेयकको परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । त्यसमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ ।