बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

१५ माघ २०८१, मंगलवार १३:३८

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार ३० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ भने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ ब्याज आगामी ६ फागुनमा भुक्तानी हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।