काठमाडौं ।प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेको छ ।
क्रान्तिकारी पत्रकारहरूको सङ्गठन संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ ।
माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ ।
सो अवसरमा सङ्घीय राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनले स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयोजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले सङ्गठनको पाँचौ राष्ट्रिय महाधिवेशनको बारेमा ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनले बताए ।
२०७३ असोज १३ र १४ गते काठमाडौँमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । सङ्गठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवेशन मानिएको छ ।
प्रेस सङ्गठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट दाहाल संयोजकमा चुनिएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रूपमा लिइएको छ ।
