सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च

१३ माघ २०८१, आईतवार १५:३५

काठमाण्डौं । हिउँद सुक्खा हुँदा सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ आगलागी र डढेलोका घटना बढ्न थालेका छन् ।

काभ्रेको बेथानचोक गाउँपालिका–३ को नाराणस्थान सामुदायिक वन र जनजागृति सामुदायिक वन तथा वडा नम्बर–५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो नियमन्त्रणमा आउन सकेको छैन । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ ।

मध्य माघ भइसक्दा पनि यसपालि हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । यसले वायु प्रदूषणसँगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन् ।

नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन् ।

शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ ।उनले आगलागी र डढेलोका घटना न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभएको छ । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट र डेडिकेटेड संरचना बनाउन पनि उनको सुझाव छ ।

विपद् हेर्ने एकल अधिकार पालिकामा रहेको भन्दै शर्माले उनीहरूको क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउएका छन्। पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेको तर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जन सहित समयानुकूल बनाउनुपर्ने उनको सुझाव छ ।

नेपालमा डढेलो हेर्ने संरचनागत निकाय नरहेको, बजेट, दक्ष जनशक्ति र प्रविधिको अभाव रहेको हुँदा वन तथा वातावरण मन्त्रालय अथवा विपद् व्यवस्थापन प्राधिकरणअन्तर्गत एउटा कुनै महाशाखा वा शाखा खोलेर त्यसलाई जवाफदेही बनाउन आवश्यक रहेको विज्ञले बताएका छन् ।