अखिल क्रान्तिकारीको अध्यक्ष पदमा सापकोटा र राई बिच कडा प्रतिस्पर्धा

१३ माघ २०८१, आईतवार १५:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटा र हेमन्त राई बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचनमा सापकोटा र राईबिच चर्को प्रतिस्पर्धा देखिएको हो ।सापकोटा र राईबिचको मतान्तर जम्मा २० रहेको छ ।

छिल्लो मत परिणाम अनुसार ७ प्रदेशको मतपरिणाम सार्वजनिक हुँदा सापकोटाले जम्मा ४८१ मत पाएका छन् । सापकोटालाई टक्कर दिँदै अर्का अध्यक्षका उम्मेदवार राईले ४६१ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् ।

यो रिपोर्ट तयार पार्दासम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

यसैगरी सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशमा विवादका कारण मतगणना सुरु भएको छैन ।

आचारसंहिता र मतपत्रमा टिक लगाएको मसीको रङका कारण विवाद हुँदा मत गणना कार्य ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।