महोत्तरी । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताएका छन् ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे ।
मुलुकका दुई मुख्य दल सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे।
“हामीबीच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ”, पोखरेलले भने, “सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ ।” पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ । यसले आर्थिक सूचकहरुमा क्रमशः सकारात्मक सुधार देखाएको उनले बताए ।
महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे ।
यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको उनले बताए ।
सो कार्यक्रममा प्रदेशभित्रका केन्द्रीय कमिटी र निकायका सबै सदस्य, प्रदेश कमिटीका सदस्य र प्रदेशभित्रका सबै जिल्लाका अध्यक्ष तथा सचिवको सहभागिता रहने एमालेका प्रदेश अध्यक्ष मण्डलले जानकारी दिए ।
