प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

७ माघ २०८१, सोमबार १२:०२

चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।घटना केही समय अगाडि भएको उनले बताए।

‘अहिले भाइरल बनेको भिडिओ पुस १४ र १५ गते चितवनमा भएको भन्ने खुलेको छ। सम्बन्धित निकायलाई छानबिनका लागि निर्देशन दिइसकेको छ,’ उनले भने।

चेकिङमा खटिएका एक जना प्रहरीले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिन्छ। ‘पावर देखाएको’, ‘फोन गरेको’, भन्दै ती युवकमाथि निर्घात कुटपिट गरेका थिए।

कुटपिट घटनामा जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन थालिसकेको एसपी गौतम मिश्रले बताए। डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन सुरू भएको उनको भनाइ छ।