इजरायल र हमासबीच गाजामा युद्धविराम,१५ महिनादेखि चलेको रक्तपात अन्त्य

३ माघ २०८१, बिहीबार ११:३४

गाजा । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन्

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इसराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्धविरामको सम्झौता आइतबारदेखि कार्यान्वयनमा जाने पनि प्रधानमन्त्री शेख मोहम्मदले बताएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।

उनले वार्ताकारहरू सम्झौता लागु गर्नका लागि इसराइल र हमासका प्रतिनिधिसँग बाँकी प्रक्रियामा काम गरिरहेको बताएका छन्।

यो सँगै गजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताले गजामा भइरहेको लडाईंलाई रोक्ने बताएका छन्। प्यालेस्टिनी नागरिकहरूलाई अत्यावश्यक मानवीय सहयोग बढाउनेछु र १५ महिनाभन्दा बढी समयदेखि बन्धकमा रहेकाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउनेछु ,राष्ट्रपति बाइडेनले बुधबार वासिङ्टनमा भनेका थिए।

अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ। त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।

गजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू ‍हमासको बन्धकमा रहेको बताइएको छ। इसराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ।

युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।