काठमाण्डौ । विगत ४ वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी )को बैठक आजदेखि काठमाण्डौमा शुरू भएको छ ।
बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकन सम्मका विषय उठाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिएकाछन् ।
उहाँले नेपालको आयात–निर्यात र व्यापारका हिसाबले भारत महत्त्वपूर्ण छिमेकी देश भएकाले छलफल निकै महत्त्वपूर्ण रहेको बताएकाछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिएकाछन् ।
उहाँले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेन्डा नेपालका रहेको बताएकाछन् ।
बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर सहभागी भएकाले उपलब्धिमूलक हुने प्रवक्ता अधिकारीले विश्वास व्यक्त गरेका छन् ।
नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै उहाँले भारत त्यो विषयमा सकारात्मक रहेको जानकारी दिएकाछन् ।
यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विश्वास गरिएको छ । बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेका छन् ।
नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तर संयन्त्रको बैठक भोलिसम्म चल्नेछ ।
