दैलेखमा पेट्रोलियम भण्डार छ भन्ने देखिए सकारात्मक संकेत

२४ पुष २०८१, बुधबार १६:५०

दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको पैरवी गाउँपालिका १ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ।

पुस २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखमा पेट्रोलियम भण्डार रहेको कुरा खानी विभागका वरिष्ठ भूगर्भविद गणेशनाथ त्रिपाठीले भने ,सम्भावित जानकारी प्राप्त हुन्छ। सोही आधारमा सरकारलाई आगामी कदम लिन सहज हुने त्रिपाठीको बुझाइ छ।

लामो समयदेखि पेट्रोलियम खानी रहेको चर्चा हुँदै आएको थियो। तर ठोस अनुसन्धानको काम अगाडि बढेको थिएन। गत वैशाखदेखि भने चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दैलेखको जलजलेमा ड्रिलिङको काम सुरू गरिएको थियो।

४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यसहित काम सुरू गरिएकोमा पुस २० गते ४ हजार १३ मिटर ड्रिलिङ गर्ने काम सम्पन्न भयो, खानी विभागका वरिष्ठ भूगर्भविद गणेशनाथ त्रिपाठीले भने,

ड्रिलिङ गर्दा पेट्रोलियम पदार्थ अन्तर्गत प्राकृतिक ग्यासहरू भेटिएको छ। अर्थात् उक्त भूगर्भमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ।

नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार ड्रिलिङ कार्य दोस्रो चरणको काम हो। त्यसअघि चीनका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पहिचान गरेको थियो। सोही ठाउँमा गत वैशाखदेखि ड्रिलिङको काम सुरू गरिएको हो।

ड्रिलिङको काम सकिएसँगै अब तेस्रो चरणको काम सुरू हुनेछ। सन् २०१९ मा चीन सरकारसँग सम्झौता हुँदै यो कार्य तीन चरणमा सक्ने सम्झौता भएको थियो।

दैलेखमा देखिएका सकारात्मक संकेतहरूले भने निकै आशा जगाएको उल्लेख गर्दै उनले भने, अहिलेसम्म दैलेखमा चुहावटहरू भेटिएको थियो तर हाम्रोमा पेट्रोलियम पदार्थ छ वा छैन भन्ने अन्यौल नै थियो।

यो अन्वेषणले भने पेट्रोलियम भण्डार छ भन्ने पुष्टि गरेको छ। यसले हामीलाई एक स्टेप अगाडि बढाएको छ। नेपालका लागि यो कोशेढुंगा हुनेछ।