काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठक आज तेस्रो दिन अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरूले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् ।
बैठमा क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।
‘युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीँबाट न्यायोचित निर्णय गरेर जाउँ ।’ बैठकमा बोल्दै उनले भने,
तामाङले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखे ।
‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक संघर्षमा जानुपर्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरू हुनुहुन्छ । उहाँहरूको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरूले धैर्यता गर्नुपर्दछ ।
माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।’
