राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब निक्षेप खिच्दै 

१४ पुष २०८१, आईतवार १४:१७

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम बढीमा १० करोड रूपैयाँ र घटिमा  पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी माघ ६ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाटै राष्ट्र बैकले निरन्तर तरलता खिचिरहेको छ ।