चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आजदेखि खुल्दै

८ पुष २०८१, सोमबार १३:२५

मकवानपुर – । जीर्णोद्धारको लामो पर्खाइपछि बाग्मती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग नागरिकले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो ।

समयमै कार्यविधि नबन्दा र सञ्चालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जिर्णोद्धार भएको आठ महिनापछि मात्रै खुल्न लागेको हो ।

अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधरणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले जानकारी दिनुभयो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग बाग्मती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रम बीच हेटौँडा उपमहानगरपालिकालाई हस्तारन्तरण गर्दै छ ।

प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्यौलता थियो ।

काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको यो सुरुङमार्ग दक्षिण एशियाकै पहिलो सुरुङमार्ग मानिन्छ ।