चितवन रत्ननगरमा इसाई धर्मको कार्यक्रमको चर्को विरोध

३ मंसिर २०८१, सोमबार १५:२३

चितवन। रत्ननगर नगरपालिका–७, चित्रसारी, चितवनमा इसाई धर्मको प्रचारका लागि आयोजना गर्न लागिएको कार्यक्रममा देशभरबाट चर्को विरोध भइरहेको छ।

रत्ननगर नगरपालिकाले हिन्दू धर्मावलम्बीहरूको धार्मिक मन्दिरको छेउमा कार्यक्रमस्थल प्रदान गरी इसाई धर्मका प्रचारक प्रोफेट बाजिन्दर सिंहको कार्यक्रम गर्न दिने निर्णयलाई लिएर विभिन्न समुदायले गम्भीर आपत्ति जनाएका छन्।

यस कार्यक्रममा नगरपालिकाको संलग्नता र पैसाको खेल रहेको आरोप लगाइएको छ। हिन्दू धर्मका पवित्र स्थलहरूलाई अतिक्रमण गर्दै यस्तो कार्यक्रम सञ्चालन गर्न अनुमति दिनु अत्यन्त आपत्तिजनक भएको भन्दै विभिन्न धार्मिक तथा सामाजिक समूहहरूले कडा विरोध जनाएका छन्।

आयोजित कार्यक्रममा धर्म परिवर्तनको प्रचारप्रसार हुने आशंका रहेको भन्दै स्थानीय र धार्मिक समूहहरूले यसलाई रोक्नका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

साथै, विरोधका कार्यक्रमहरू र दबाबमूलक गतिविधिहरू तीव्र बनाउने तयारी भइरहेको छ।

विरोधमा उत्रिएका समूहहरूले यो कदम नगरपालिकाको मिलेमतो र धार्मिक सहिष्णुता माथिको प्रहार भएको ठहर गरेका छन्। यस्तो क्रियाकलापले धार्मिक सहिष्णुता खल्बलिने चेतावनीसमेत दिएका छन्।