प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप

२८ कार्तिक २०८१, बुधबार १४:१५

भक्तपुर । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितता विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शनलाई जारी राखेका छन् । डेढ महिनादेखि स्थानीय आन्दोलनमा छन् ।

बुधबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

बुधबारको प्रदर्शनमा उनीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको चर्को विरोध गरेका छन् । मन्त्रीलाई भेटेर पटक पटक ज्ञापन पत्र बुझाएपनि मन्त्रीले नै भ्रष्टहरुलाई संरक्षण गरिरहेको बताए । केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटक पटक जानकारी गराएपनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरिएकोमा स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति प्रकट गरे ।