काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।
आइतबार बिहान प्रशिक्षक जियान पिएरो ग्यास्पेरिनीको ४००औं खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन गयो ।
चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोला लुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए ।
खेलको छैटौं मिनेटमै एडेमोला लुकम्यानको पासमा मार्टेन डे रोनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । केही क्षणमै लुकम्यानको अर्को प्रयास माटेओ रेटेगीको गोलमा परिणत भयो ।
चार्ल्स डे केटेलेरले उत्कृष्ट कर्लिङ गोल गर्दै एटलान्टालाई १४ औं मिनेटमा अग्रता तेब्बर पुगेको थियो । लुकम्यानले २९ औं मिनेटमा गोल गरेपछि खेल ४–० मा पुगेको थियो । उनैले आफ्नो दबदबालाई जारी राख्दै टिमका लागि पाँचौं गोल ३४ औं मिनेटमा गरेका थिए ।
३५ औं मिनेटमा भेरोनाका लागि अमिन सारले उत्कृष्ट प्रहार गरे पनि अफसाइड भएको कारण गोल मान्य भएन । उनले ४२ औं मिनेटमा गोल गर्दै अग्रता ५–१ मा झारेका थिए ।
खेलको ५८ औं मिनेटमा रेटेगीले डे केटेलेरको पासमा अर्को गोल थप्दै आफ्नो दुई गोल पूरा गरे ।
जीतपछि एटलान्टा ९ खेलबाट १६ अंकसहित तालिकाको चौथो स्थानमा छ । यसैगरी भेरोना भने समान खेलबाट ९ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।