काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको बताए ।
आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए ।
‘यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्को एउटा खतराको घण्टी हो । उनीहरूलाई लागेको थियो कि रास्वपा सकियो । तर रास्वपा त यस्तो भएर आएको छ अव यसको मूल्य हामीले तिर्नुपर्छ है साथी हो’, लामिछानेले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु अव आरोप सहकारी ठगबाट गोरखा मिडियातिर सर्छ । ’
उनले प्रमाण कस्तो हुन्छ भन्ने कुरा आफ्नै केन्द्रीय नेताहरू बसेकोबाट थाहा हुन्छ होला नि भन्दै कांग्रेसतर्फ सङ्केत गरे । उनले सहकारीमा प्रमाण छ, प्रमाण छ भने पनि प्रमाण नभएर प्रणाम छ भनेर भनेको रहेछ भनेर व्यङ्ग्य समेत गरे ।
उनले भने, ‘हिजो भर्खरै संसदीय छानविन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मुल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्वीकार्न के गार्हो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’
कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे । त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे ।
‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस,’उनको भनाइ छ ।
