जनयुद्धलाई ‘हिंसा’ भनेको शब्द नसच्याएसम्म माओवादीले संसद अवरोध गर्ने

३० भाद्र २०८१, आईतवार ११:४४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध गर्ने तयारी गरेको छ । माओवादीले आइतबार दिउँसो १ बजे बस्ने बैठक अवरोधको तयारी गरेको हो ।

एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको र त्यो नसच्याउँदासम्म अवरोध जारी रहने माओवादी सांसद माधव सापकोटाले बताए ।

“एमालेले आफ्ना मन्तव्यहरू सच्याउनुपर्छ । खासगरी योगेशजीले जसरी भन्नुभयो, उहाँको मन्तव्यको सारमा जे छ, त्यो सच्चिनुपर्छ,” उनले भने, “अन्यथा संसद् अवरोध हुन्छ ।”

उनले सांसद भट्टराईले भनेको ‘हिंसा’ शब्द असंवैधानिक र असंसदीय भएको दाबी गरे । “संविधानभन्दा माथि कोही हुँदैन । संविधानको पालना हुनुपर्छ, संसदीय मान्यताअनुरूप चलिनुपर्छ,” उनले भने ।

सांसद भट्टराईले गत भदौ १२ गते बसेको संसद् बैठकमा माओवादी जनयुद्धलाई दोहोर्‍याइ तेहेर्‍याइ माओवादी जनयुद्ध नभइ हिंसा नै भएको बताएका थिए ।त्यसलगत्तै माओवादी सांसदहरू उठेर विरोध गरेका थिए भने उक्त शब्द संसद्को रेकर्डबाट हट्नुपर्ने माग गरेका थिए । तर, २८ गते बसेको बैठकमा सभामुख देवराज घिमिरेले हटाउन नपर्ने निर्णय सुनाएका थिए । यसपछि माओवादी सांसदहरूले बैठक अवरोध गरे । यसपछि बैठक नै स्थगित भयो ।