काठमाडौं। बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।
पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उनको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । उनले भने, ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समिति सदस्य राखेको हो ।’
चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो ।
छलफलमा ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकार भित्रको विषय समेत नभएको’ ठहर गरेको थियो ।
यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो । जसमा अनुशासन समितिले‘ स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र चन्दन उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ ।
यस्तै उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा निजको आचरण समेत राजनीतिक रूपमा स्वीकार योग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ ।
अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।
‘स्वर्णकारको आचरण प्रदेश अनुशासन आयोगमार्फत अनुगमन गरी ६–६ महिना प्रतिवेदन पेस गर्ने र आचरणमा उल्लेख्य सुधार आएको देखिएमा निजलाई गरिएको कारबाही माथि पुनर्विचार गर्न सकिने’ भनी आयोगले लेखेको छ ।
