काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलले प्रश्न उठाएकी छन् ।
काठमाडौंका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले मेयर बालेन शाहमाथि प्रश्न उठाएकी हुन् ।
सर्वोच्चले हालै मात्र नदी किनारको दुबैतर्फ थप २०–२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगतै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ ।
कार्यपालिकाको मंगलबार बसेको बैठकमा वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले सूचना निकाल्न हतार गरेको भन्दै मेयरमाथि प्रश्न गरेका थिए ।
उपमेयर डंगोलले पनि मेयरमाथि प्रश्न उठाइन् । अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएको उनले बताइन् । तर अदालतलको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने उनले बताइन् । महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उनले भनिन्, यो सबै जनाको निर्णय हो कि होइन ?’
जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् । ससाना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’
