गुट र उपगुटका कारण पार्टी कमजोर भएको माओवादीको निष्कर्ष

३ भाद्र २०८१, सोमबार १६:०४

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले गुट र उपगुटका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ ।

साउन ३१ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू हाबी हुँदा पार्टीमा विधान र विधि पद्धतिलाई अवलम्बन गर्न नसकिएको समेत निष्कर्ष निकालेको छ ।

पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै माओवादीलाई नयाँ उचाइमा लैजानुपर्ने निर्णयसहित आइतबार मातहतका समितिलाई परिपत्र पठाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार आइतबार जारी गरिएको परिपत्रमा भनिएको छ, ‘कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्नका लागि मुख्यतः पार्टी सङ्गठनमा निर्भर रहन्छ । परन्तु ः पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेनौँ । पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए ।’

विगतको समीक्षा गर्दै परिपत्रमा थप व्याख्या गरिएको छ’, ‘पार्टीको विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदा भयो । विगतकालमा त्यस प्रकारका चिन्तन प्रवृत्तिप्रति उदार सोचहरूले गर्दा त्यसलाई दुरुत्साहित गर्न सकेनौँ ।’

परिपत्रअनुसार माओवादीले पार्टीलाई एकताबद्ध गर्दै नयाँ उचाइमा पुर्‍याउन समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वामपन्थी ध्रुवीकरण तथा बृहत् कम्युनिस्ट पार्टी एकतामा जोड दिएको छ । तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिइएको छ ।