नेतृत्व चाहँदैमा तत्काल हुने कुरा होइन: प्रचण्ड

२७ श्रावण २०८१, आईतवार १७:४३

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोक्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार संश्लेषणका लागि व्यवस्थित बहस चलाएर समाजवादी विचारलाई थप विकसित गर्ने र आठौँ महाधिवेशनले अनुमोदन गरेको २१ औँ शताब्दीको समाजवाद नै पार्टीको मुख्य कार्यदिशा भएको मौखिक प्रस्ताव राखेका थिए ।

तर कसैले चाहँदैमा तत्काल नेतृत्व नहुने स्पष्ट पार्दै त्यसका लागि वर्ग संघर्ष, वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका र परिस्थितिको आवश्यकताले नेतृत्व जन्मिने प्रचण्डको भनाइ रहेको एक स्थायी समिति सदस्यले बताए ।

‘नेतृत्व चाहँदैमा तत्काल हुने कुरा होइन । त्यो वर्ग संघर्ष र वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका, परिस्थितिको आवश्यकताले नेतृत्व जन्मन्छ । म आफैँ विचार निर्माणमा लाग्ने सोच हो । त्यसका लागि सामूहिक सेटमै सोच्नुपर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा असहमति राखेका थिए । पार्टीको विधान लेखनको बेलादेखि नै नेतृत्वसँग फरक मत राख्दै आएका शर्माले आन्तरिक समस्या, संगठन निर्माण र आगामी कार्यनीति सम्बन्धमा लिखित प्रस्ताव पेस गरेको अर्का एक स्थायी समिति सदस्यले बताए ।