काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता निर्माणको खेलमा नअल्मलिने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले पछिल्ला कार्यक्रमहरुबाट सत्ता निर्माणको खेलमा नअल्मलिने बताइरहेका हुन् ।
मंगलबार विराटनगरमा आयोजित प्रशिक्षणमा त प्रचण्डले अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । यस्तै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नजाने अनुमान गर्दै प्रचण्डले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु ।’
प्रचण्डले प्रधानमन्त्री नबन्ने घोषणा गर्दा केही भावुक पृष्ठभूमि सुनाएका थिए । विशेषगरी शान्ति प्रक्रियामा आइसकेपछि संघर्ष र संविधान निर्माणको कार्यदिशा सँगसँगै तयार पार्दा पार्टी विभाजनको आधार तयार भएको रियलाइजेसन प्रचण्डको थियो ।
‘‘ हामी जनयुद्धको तयारी गर्ने, जनयुद्ध उठाउने, हजारौं मान्छेहरुको बलिदानपूर्ण महान् क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेहरुलाई हेर्दाहेर्दै पार्टी सिद्धिन लागेको कुरा त कम पीडादायी हुन्छ होला त ।’, प्रचण्डले भनेका थिए ।
माओवादी कमजोर बन्नुमा विभाजन नै मुख्य कारण भएको उनको निष्कर्ष थियो । तर ‘माओवादी अब बन्दैन’ भन्ने भाष्य परिवर्तन गर्न सम्भव रहेको र आफू त्यसमा लागिपरेको प्रचण्डले बताएका छन् । पार्टी पुनर्निर्माणको प्रतिवद्धताकै क्रममा प्रचण्डले फेरि प्रधानमन्त्री बन्ने प्रतिवद्धता गरेका हुन् ।
नेताहरुका अनुसार प्रचण्डमाथि पार्टीभित्र परेको दबावका कारणले सत्ताको खेलमा नअल्मलिने र अवसर आए पनि आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन् ।
‘
