कर्णाली प्रदेश मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

२१ श्रावण २०८१, सोमबार १०:४७

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार (आज) विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन भएका हुन्।

प्रदेशसभाको आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि यो सम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए।

विश्वासको मत प्रयोजनका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरिएको छ। यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उनको नेतृत्वको सरकारले पूर्णता पाएको छ। कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन्।