स्वास्थ्य चौकी भवनका लागि वडा अध्यक्ष अर्यालले प्रदान गरे निःशुल्क जग्गा

१५ श्रावण २०८१, मंगलवार १२:५५

गुल्मी । छत्रकोट गाउँपालिका वडा नं ३ को स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । पुरानो गाबिस भवनबाट सेवा दिईरहेको स्वास्थ्य चौकी अब नयाँ भवनबाट सञ्चालन हुने भएपछि यहाँका स्थानियमा खुशी छाएको छ ।

संघिय सरकारको बिशेष अनुदान अन्तर्गत बहुवर्षिय योजनाबाट निर्मित उक्त भवन रेसुगां दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले निर्माण गरेको हो । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी १ करोड ७१ लाख रुपैयाँमा सम्झोैता गरेर निर्माण सुरु गरेको निर्माण कम्पनीले समयमा नै काम सम्पन गरेको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसारको सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेपछि यसबाट पाउने सेवा पनि थप हुने स्थानियको अपेक्षा छ ।

यो भवन निर्माण गर्न सोहि वडाका वडा अध्यक्ष तेजकान्त अर्यालले जग्गा निःशुल्क प्रदान गरेका हुन्। अर्यालले निःशुल्क प्रदान गरेको कुल साडे ३ रोपनी जग्गामा स्वास्थ्य चौकी भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए।

वडा अध्यक्ष अर्यालका अनुसार भवन बनाउन जग्गा किन्न नपाईने, अन्यत्र पनी जग्गा खोजिएको तर नपाएपछी विकाशका लागि आफैले निःशुल्क जग्गा प्रदान गरेका हुन्। “स्वास्थ्य चौकी भवनलाई जग्गा दिनु सामाजिक काम संगै पुण्य पनि हुने भएकाले प्रदान गरेका हौं सुविधा सम्पन्न भवन बनेको छ, बलियो पनि बनेको छ परिवार नै खुुशी छौं” वडा अध्यक्ष अर्यालले भने। उनले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि आफ्नो एउटा सपना पुरा भएको समेत बताए।

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार भवन कानुनी रुपमा निर्माण व्यवसायीबाट पालिकाले ग्रहण गरी कार्यालय व्यवस्थापन र स्वास्थ्य सामाग्रीको जोहो गर्ने काम भईरहेको छ, अव छिट्टै नयाँ भवनबाट सेवा दिने तयारी गाउँपालिकाले गरिरहेको छ ।