लुम्बिनी प्रदेशमा एमाले कांग्रेसको सरकार भएपनि दुवै दलभित्र विवाद

११ श्रावण २०८१, शुक्रबार ११:२५

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेपनि दुवै दलभित्र विवाद बढेको छ ।

सरकारको नेतृत्व गरेको एमालेभित्र संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि प्रदेशमा आन्तरिक विवाद बढेको हो । यस्तै नेपाली कांग्रेसभित्र मन्त्रीहरूको छनोट गर्दा कांग्रेस प्रदेश समितिसँग छलफल नगरी केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि विवाद बाहिर आएको छ ।

मुख्यमन्त्री चयनमा असन्तुष्टि जनाउँदै एमाले संसदीय दलका नेता लीला गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष दलको नेताबाट राजीनामा नै बुझाएका छन् । यस्तै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयताको मर्म विपरीत केन्द्रबाट हस्तक्षेप गरेर प्रदेशको सरकारमा मन्त्रीहरू छनोट गरिएको भन्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएका छन् ।

कांग्रेस प्रदेश सभापति पुनले मन्त्रीहरूको नाम नसच्याएमा छिटै प्रदेशमा भेला गरेर दबाब दिने योजना रहेको बताए ।