क्याप्टेन मनिषरत्न शाक्य भन्छन् ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ ’

१० श्रावण २०८१, बिहीबार १५:००

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्छन् । बिहीबार (आज) बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका थिए । काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।