काठमाडौं । कांग्रेस–एमालेको समीकरण बन्नुमा चार कारण रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।
कांग्रेस–एमालेले गठबन्धन गरेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढ्न नदिन र शान्ति प्रक्रिया उल्ट्याउन खोेजेको उनले बताएका हुन्। यस्तै, ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) रोकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउनका लागि सरकार परिवर्तन भएको उनले दाबी गरे।
उनले भने, ‘मुख्य कारण साम्राज्यवादी शक्तिहरूको नेपालमा सैन्यग्राउन्ड बनाउन र द्वन्द्वग्रस्त बनाएर चीनलाई घेराबन्दी गर्न नेपाललाई टेरिटोरी बनाउनुपर्छ भन्ने एकसूत्रीय लाइन छ, त्यो लाइनले बढी काम गरिराखेको छ ।’
यस्तै ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)लाई पुनर्परिभाषित गर्दै आईपीएसको अंग बनाउनलाई प्रचण्ड सरकारले ढालेर यो समीकरण बनाइएको समेत उनले दाबी गरेका छन् । भ्रष्टाचारका फाइल खुल्न थालेपछि पनि देउवा–ओली मिल्ने आन्तरिक परिस्थिति बनेको उनले पनि बताए ।
