फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

९ श्रावण २०८१, बुधबार १२:०९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका ९अधिकृत स्तर छैटौं० इन्जिनियर पदमा कार्यरत मो।अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको अख्तियारको आरोप छ ।

अख्तियारले घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मु्द्दा दायर गरिएको आयोगले जनाएको छ ।