बागमती प्रदेशमा बहादुर सिं लामा मुख्यमन्त्री बन्ने

८ श्रावण २०८१, मंगलवार ०८:३९

काठमाडौं । बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएको छ ।

यी दुई ठुला शक्तिबिच समीकरण बनेसँगै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्री बन्ने भएका छन् ।

यस्तै एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भइरहेको छ । आइतबार सत्ता समीकरण अनुकूल नबनेपछि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को (२) अनुसार दाबी गर्न साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् । सोही अनुसार नेता लामाले सरकारमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

सरकार गठनको तयारी थाले लगत्तै कांग्रेस एमालेमा मन्त्री बन्नेहरूको लर्को छ । सरकार गठन नहुँदै मन्त्री पद सुरक्षित गर्न सांसदहरू तीव्र दौडधुपमा छन् । दुवै दलका सांसदहरू मन्त्री बन्ने लबिङका लागि काठमाडौँ बसेर नेताहरूसँग भेटमा केन्द्रित भएका छन् ।