काठमाडौँ । होस्टेलभित्रै डरैडरमा बस्नुपर्ने । न इन्टरनेट चल्ने । न त घर परिवारसँग सम्पर्क हुने । स्थानीय सबै आ–आफ्नो घरतिर लागिसकेका थिए । होस्टेलमा केवल विदेशी विद्यार्थी मात्रै । जसोतसो विद्यार्थीहरूले केही दिन बिताए ।
तर, दिनप्रतिदिन हिंसाले उग्ररूप लिँदै गयो । त्यहीबिचमा विभिन्न खालका अफवाह समेत फैलिए । कुन बेला के हुन्छ सबै भगवान् भरोसा थियो । विद्यार्थीहरू निकै आत्तिएको देखेपछि कलेजका प्रिन्सिपलले नै नेपाल फर्किने वातावरण मिलाइदिए । र होस्टेलदेखि एयरपोर्टसम्म एम्बुलेन्समा पुर्याईदिए ।
त्यसपछि बंगलादेशमा एमबीबीएस पढ्दै गरेकी ललितपुरको सातदोबाटोकी सुस्मिता कुमारी सहज रूपमा नेपाल आउन सफल भइन् । बंगलादेशमा भड्किएको हिंसाका कारणले केही दिनको त्रासदी अवस्थाबाट यतिबेला उनी मुक्त भएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले राहतको श्वास फेरेकी छन् ।
उनी बंगलादेशको ढाकास्थित पपुलर मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत छिन् । केही महिनापछि अन्तिम वर्षको परीक्षा सकेर नेपाल फर्किने उनको योजना थियो । तर, बंगलादेशमा भड्किरहेको हिंसाका कारण अहिले नै नेपाल फर्किएकी हुन् ।
ढाकास्थित आफ्नो होस्टेलबाट आज बिहान ४ बजे निस्केकी थिइन् । उनीसँगै तीन जना साथीहरू नेपाल फर्किएका छन् ।