प्रधानमन्त्री ओलीलाई यी दलले विश्वासको मत नदिने

६ श्रावण २०८१, आईतवार ०७:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले मत दिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले प्रधानमन्त्री केपी ओलीलाई विश्वास मत नदिने बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।