काठमाडौं । नेपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानले ‘१० भाइ’को हरिबिजोग अवस्था छ ।
ओलीले ‘१० भाइ’लाई पार्टी, संसदीय मोर्चादेखि सरकार कतै पनि राम्रो अवसर नदिई पेलेरै राखेको देख्न सकिन्छ। विगतमा ओलीको गलत कार्यशैलीको कडा आलोचनासंगै विरोध गरेका कारण उनीहरू अवसरबाट वञ्चित हुँदै आएका छन् ।
एमालेभित्र १० भाइका रूपमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ । १० भाइका रूपमा चिनिने यी नेताहरू तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल समूहका नेता थिए ।
यी नेताले नेकपामा रहेका बेला ओलीको गलत कार्यशैलीका विरुद्धमा कडा आलोचना र विरोध गर्दै आएका थिए । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एक समूहमा उभिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा उनीहरूले विरोध गर्दै आएका थिए ।
सर्वोच्च अदालतले ओलीको संसद् विघटनलाई असंवैधानिक कदमसमेत भएको फैसला गरेको थियो । झन्डै दुई तिहाइ बहुमतको सरकार ओलीकै कारण ढलेको थियो । ओलीको कार्यशैलीको विरोध गर्दै आए पनि ओलीले यी नेताको कुरा सुन्न चाहेनन् ।
अदालतकै फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतियो । पछि एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । तर, नेपाल समूहमा रहेका यी नेताहरूले भने विद्रोह गर्ने आँट गर्न सकेनन् । उनीहरू एमाले एकताकै पक्षमा उभिए । ओली नेतृत्वकै एमालेमा बस्न बाध्य भए । तर, ओली भने उनीहरूलाई कुनै अवसर दिन चाहँदैनन् । आफ्नो विरोध गर्नेलाई ओलीले छानीछानी सडकमा फाल्ने काम गर्दै आएका छन् ।
पार्टीको १०औं महाधिवेशन चितवनको सोराहामा हुँदैगर्दा ती नेतालाई मत नदिन ओलीले ‘फर्मान’ नै जारी गरेका थिए । कोही धोखाले पार्टीको जिम्मेवारीमा आए भने अधिकांश नेतालाई पार्टीको जिम्मेवारीबाट हटाउने काम ओलीले गरे ।
४ मंसिर २०७९ मा भएको आमनिर्वाचनमा ओलीले कतिपय नेतालाई टिकट नै दिएनन् । ओलीले रावल, भुसालहरूलाई टिकट दिएनन् । भुसालले विद्रोह गर्दै उम्मेदवारी दिए । तर, पराजित भए । पछि उनी माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिवको जिम्मेवारी पाउँदै पार्टी निर्माणमा लागे ।
