काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले शक्ति बाँडफाँटका विषयमा छलफल गरिरहेका छन् । गत असार १७ गते मध्यराति सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले अहिले मन्त्रालयको भागबण्डामा केन्द्रित रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते संसदमा विश्वासको मत लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । तर कांग्रेस र एमाले त्यसअघि नै मन्त्रालयको भागबण्डा टुङ्ग्याउन तयारी गरिरहेका छन्।
असार २० मा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा कांग्रेस र एमालेका नेताहरूले मन्त्राललयको भागबण्डाबारे दुई वटा विषयमा सैद्धान्तिक सहमति गरेका थिए । देउवा र ओलीबिचको उक्त छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए ।
एमाले र कांग्रेसबिच मन्त्रालय भागबण्डामा रस्साकसी नगर्ने र एकै पटक सबै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको नेताहरूले बताएका छन्। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार ओलीले अर्थ मन्त्रालय आफ्नै पार्टीले सम्हाल्ने सङ्केत गरेका थिए ।
उनले भने, ‘अर्थ मन्त्रालय चाहिन्छ भन्ने उहाँ (केपी ओली) को कुरा थियो । तर, भागबण्डा मिलाउन बाँकी नै छ । नेताहरू बसेर काम गरिराख्नु भएको होला ।’ ओली नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने नेताहरूले जनाएका छन् । अहिलेसम्मको छलफलमा कांग्रेस र एमाले बाहेकका दललाई सरकारमा सहभागी गराउने विषय प्रवेश भएको छैन ।
