क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२७ असार २०८१, बुधबार ०९:१९

काठमाडौं । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।

कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।