विराटनगर । विराटनगरमा केटी जिस्क्याएको निहुँमा एक युवकको हत्याको भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । पक्राउ परेका सञ्जय भोजपुरका हुन् भने शेर्पा ताप्लेजुङका हुन् । उनीहरू विराटनगरमै कोठा भाडामा बस्दै आएका छन्। अन्य दुई जनाको घर भने विराटनगरमा भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको प्रहरीले बताएको छ ।
कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
घटनामा परी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।
बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनले भने, ‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन् । कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’
कामत त्यो घट्नामा भए नभएको यकिन भने नभएको प्रहरीले जनाएको छ ।
