राजेश हमाल र धीरेन शाक्य एकसाथ तानसेनमा

२६ असार २०८१, मंगलवार १२:२२

काठमाडौं । महानायक राजेश हमाल र अभिनेता धीरेन शाक्य एकसाथ पाल्पाको तानसेनमा एकै साथ देखिएका छन् ।

महानायक हमाल र अभिनेता शाक्य एकसाथ देखिनु ‘दुर्लभ’ अवसर हो । यी दुई अभिनेता फ्रेममा एकसाथ नदेखिएको वर्षौं भइसक्यो । सार्वजनिक समारोहमा समेत यी दुईलाई एकसाथ देख्न सकिदैन ।२८ वर्षअघि रिलिज भएको सुपरहिट फिल्म ‘सिमाना’मा यी दुई अभिनेताको चर्चा र गसिप निकै चल्यो । त्यसयता पनि यी दुईबीच हार्दिक सम्बन्ध नभएको हल्ला चल्न छाडेको छैन । दशकपछि यी दुईलाई एकसाथ देखिएको छ ।

यसपटक यी दुई जना गृहजिल्लामा एकसाथ देखिए । पाल्पा तानसेनस्थित पद्म पब्लिक नमुना माविको एक कार्यक्रममा यी दुवै जना एकसाथ सम्मानित भए र मिडियासँग एकसाथ तस्वीर खिचाए ।तानसेन नगरपालिकाले यी दुईलाई आइतबार स्वागत राखेको थियो । सोमबार उक्त विद्यालयले यी दुईलाई सम्मान प्रदान गरेको थियो, जहाँ यी दुई सहभागी भए ।

राजेश हमालका बुवा चुडाबहादुर हमाल उक्त विद्यालयका पूर्वप्रधानाध्यापक थिए । हमालका छोराको रुपमा राजेश र पूर्वविद्यार्थीको रुपमा धीरेनलाई विद्यालयले सम्मान प्रदान गरेको हो ।