चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू चलचित्रमा पुनः फर्किंदै

२६ असार २०८१, मंगलवार ०८:३२

काठमाडौं । नेपाली चलचित्रबाट एक दशक टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् ।

अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन् । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए।

पछिल्लो समय एक दशक अगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन् । यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढिएकी थिइन् ।

अर्की अभिनेत्री लम्साल पनि पुनः पर्दामा देखिदै छिन् । पछिल्लो समय अमेरिकामा बसोबास गर्ने उनी ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत् अभिनयमा ‘कमब्याक’ गर्दैछिन् । उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुस भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।

अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन् । अभिनेत्री थापाले भनिन् “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ ।”