धनगढी । कैलाली र कञ्चनपुरमा ६०० परिवारलाई वर्षासँगै आएको बाढी र डुबानले प्रभावित बनाएको छ ।
गत शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि कैलाली र कञ्चनपुर जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले जानकारी दिए । उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ।
आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले बताए ।
अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डीआईजी केसीले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । प्रहरीकै संख्यामा अन्य सशस्त्र प्रहरी र नेपाली सेना समेत उद्दार तथा राहतका काममा खटिएका छन् ।
