प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि रास्वपाका मन्त्रीहरूले दिएनन् राजीनामा

२१ असार २०८१, बिहीबार १२:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा दिनबाट ब्याक भएका छन् ।

बिहीबार (आज) बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।

उनले भने,‘हामी सहयात्री पनि हौँ । सँगै जानु हाम्रो जिम्मेवारी पनि हो । मैले सदनलाई जवाफ दिन्छु । सदनलाई फेस गर्छु भनेपछि हामी उहाँको संवैधानिक अधिकारलाई सम्मान गर्दै राजीनामा नदिएर फर्किएका छौँ ।’

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन पनि आग्रह गरेको परियारले बताए । ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत चाँडो लिनुहोस् । आफ्नो संवैधानिक अधिकार चाँडो प्रयोग गर्नुहोस् भनेर फर्कियौँ । बाँकी कुरामा हामी आन्तरिक छलफल गर्दैछौँ ।’