काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने भएपछि यसको प्रभाव सेयर बजारमा देखियो ।
गएराति कांग्रेस र एमालेबीच सत्ता बाँडफाँटमा मोटामोटी सहमति भएपछि मंगलबार शेयर बजार खुलेको २ मिनेट नपुग्दै ४ प्रतिशत बढ्यो, पहिलो ‘सर्किट ब्रेक’ लाग्यो र कारोबार २० मिनेट स्थगित भयो ।
दोस्रो पटक खुलेपछि ५ प्रतिशत बजार बढ्यो, दोस्रो सर्किट ब्रेक लाग्यो । तर, त्यसपछि मध्याह्न १२ः०१ बजे खुलेको बजारमा भने केही बिक्री चाप देखियो ।दुई ठूला राजनीतिक दल मिल्दा सेयर बजारमा उत्साह त थियो नै, तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएपछि बजार केही मोडियो ।
प्रचण्डले राजीनामा दिएर बाटो खोल्दा छिट्टै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त हुने थियो । तर, विश्वासको मत नै लिने भएपछि नयाँ सरकार गठन तत्काल नहुने भएको हो । यही कारण १२ः०१ बजे २१६२ अंकसम्म पुगेको बजार तेस्रो सर्किट लाग्ने अनुमानबीच ओर्लिन थाल्यो ।
अन्ततः अघिल्लो दिनको तुलनामा बजार ४७ अंक बढेर २१०० मा बन्द भयो । मंगलबार सेयर बजारमा प्रभाव देखिनुमा दुई ठूला राजनीतिक दलको सत्ता समीकरण प्रमुख कारण रहेको लगानीकर्ता बताउँछन् ।
एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाले पनि बजार बढ्न मद्दत पुगेको केही बताउँछन् । गएराति नै सत्ता बाँडफाँट क्रममा अर्थ मन्त्रालय एमालेले सम्हाल्ने सहमति भएको छ ।
पौडेल अर्थमन्त्री हुँदैमा पूँजीबजार विकासका लागि खास काम हुने होइन, तर मौद्रिक नीति ल्याउने समय नजिकिँदै गर्दा एमाले निकट भनेर चिनिएका गभर्नर महाप्रसाद अधिकारीलाई बजारअनुकूल नीति लिन दबाब पुग्ने विश्वास लगानीकर्तामा छ ।
सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले राजनीतिक घटनाक्रमको असर मंगलबारको बजारमा छरपष्ट देखिएको बताए ।
‘दुई ठूला राजनीतिक दल मिल्दा सरकार स्थायी हुन्छ,’ उनले भने, ‘अर्कातर्फ मौद्रिक नीति आउँदैछ, कांग्रेस र एमालेको सरकार भए विगतमा गरिएका कडाइ व्यवस्थाहरू खुकुलो हुने अनुमान पनि छ ।’
ठूला राजनीतिक दल मिल्दा हुने स्थायित्वले निजी क्षेत्रमा पनि विश्वासको वातावरण बन्ने र अर्थतन्त्र चलायमान हुन पनि मद्दत पुग्ने अनुमानले बजारमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
२१ फागुन २०८० मा पनि राजनीतिक घटनाक्रमले सेयर बजार तरङ्गित बनाएको थियो । त्यतिबेला कांग्रेस–माओवादी गठबन्धन भत्किएर एमाले–माओवादी गठबन्धन बनेको समाचार बिहानै बाहिरिएको थियो । त्यो दिन सेयर बजार ६ प्रतिशतले बढेर कारोबार स्थगित भएको थियो ।
२४ मंसिर २०८० मा सेयर बजार ६ प्रतिशत बढेर बीचमै कारोबार स्थगित भयो । १८५२ मा रहेको परिसूचक त्यो दिन १११ ले बढेर १९६३ अंकमा पुगेको थियो ।
त्यतिबेला भने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बजारका लागि केही अनुकूल व्यवस्था गरेपछि त्यसलगत्तै खुलेको सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको थियो ।
