नेकपा एसको निमन्त्रणा ओलीले गरे अस्वीकार

१८ असार २०८१, सोमबार ११:०३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसको निमन्त्रणा स्वीकार नगरेको बताएका छन् ।

आइतबार (हिजो) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै खतिवडाले आफूहरुले निमन्त्रणा पठाउँदा र पटक–पटक आग्रह गर्दा पनि एमालेका कोही नेता नआएको बताएका हुन् ।

उनले ठूलो पार्टी सानो हुने र सानो पार्टी ठूलो हुने प्रक्रिया जारी रहने बताए । महाधिवेशनमा एमाले नआएर एकीकृत समाजवादीलाई कुनै धक्का नलागेको पनि उनले बताए ।

उनले एमालेले मुलुक र कार्यकर्तालाई छहारी नदिएकाले विद्रोह गर्नुपरेको उनले बताए । उनले भने, ‘हामीले निम्तो गरेको हो । धेरै पटक प्रयास गर्यौं । उहाँहरु आउनुभएन । उहाँहरु नआउँदा हामीलाई धक्का लाग्नुपर्ने कुरा केही पनि छैन ।’

उनले भने, ‘हाम्रो पार्टीका कार्यकताभित्र आज नेकपा (एमाले) र केपी ओलीप्रति आजका मितिदेखि झन थप घृणा थपिएको छ । उहाँले हाम्रो पार्टीसँग दुरी कायम गर्न खोज्नुभएको छ । झन राम्रो कुरा हो ।’