केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्रीको सभापतिलाई प्रस्ताव

१७ असार २०८१, आईतवार ११:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका छन्।

यही असार १९ गते बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराएका छन् ।

महामन्त्र्ी ढकालले भने,“बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।” बुधबार बोलाइएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।

विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् । प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भनि गरिएको छैन ।

प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले बताएका छन् ।