काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।
शनिबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले पार्टीले सबै असहमतिहरू हल गरेर नयाँ नेतृत्व चयन गर्ने आशा व्यक्त गरेका हुन् ।
उनले पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने जिकिर गरे । ‘जसरी कमरेड पुष्पलालले पार्टी स्थापना गर्दा लिएको पहलकदमीले कयौँ दशकसम्म कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्यो, आज हामी समाजवादी कार्यक्रमका साथ हाम्रो गन्तव्य निश्चित गर्दछौँ । त्यो पनि एक मतका साथ । अनेक दृष्टिकोणलाई समाधान गरेर एकताबद्ध भएर त्यो कार्यक्रम र दस्ताबेज तयार गरेका छौँ । आगामी कार्यभार ती दस्ताबेजहरूलाई पारित गर्नुपर्नेछ । यसले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्नेछ ।’
भुसालले पार्टीको महाधिवेशन आफ्नो लागि मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै महापर्वको भएको बताए । । कम्युनिस्ट आन्दोलनको विभाजन, निराशा, र सन्नाटा र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको अस्थिरतालाई चिर्नका लागि यो महाधिवेशनबाट एउटा धेरै प्रभावकारी, बलशाली र दूरगामी पहलकदमी आरम्भ गरिने उनले बताए ।
उनले भने, ‘विद्रोहपछि पार्टी बनेको ३४–३५ महिनामा हामीले अनेक हन्डर खाएका छौँ । हामीले यसबाट असाधारण शिक्षाहरू लिएका छौँ । कयौँ ठाउँमा हामीले क्षति पनि बेहोरेका छौँ । जुन ठाउँमा आइपुगेका छौँ जसमा हामी गर्व गर्छौँ ।’
२०६२–६३ को जनवादी आन्दोलनपछि नेपालको कम्युनिस्ट आन्दोलनले नयाँ दिशा खोजिरहेको उनको भनाई छ । नवौँ महाधिवेशनपछि नै नयाँ कार्यदिशाका तयार गरेर माधव नेपालको नेतृत्वमा पार्टी त्यता जानुपर्छ भन्ने अपेक्षा गरिएको उनले बताए ।
महासचिव भुसालले अध्यक्ष नेपालको नेतृत्वमा गठन गरेको मूल व्यवस्थापन समितिले महाधिवेशनको तयारी पूरा गरेको बताए । उनले भोलि १६ गते आइतबार ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र साढे १२ बजे प्रज्ञा प्रतिष्ठान पुगेर उद्घाटन सत्र सुरु गरिने बताए ।
