सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मनाउने

१४ असार २०८१, बिहीबार १५:४९

काठमाडौं । सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ ।

बिहीबार (आज) २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने जनाइएको छ।

समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेका अनुसार धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीककरणलाई प्रवर्द्धन गर्ने गरी २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको हो ।

उनले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए ।

उनले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार गरी तीनको अवलम्बन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यस वर्षको सन्देश रहेको बताए ।

उनले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने जानकारी दिए ।

उनले २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको बताए । उनले कोशी प्रदेशमा ५.६, मधेश प्रदेशमा २.९,बागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ भएको बताए । उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको पनि बताए ।