एसईईको नतिजा बिहीवार सार्वजनिक हुने

१३ असार २०८१, बुधबार १७:४१

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीवार सार्वजनिक हुने भएको छ ।

बुधवार (आज) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्ममा प्रकाशन गर्ने निर्णय गरेको हो । आज लामो समय बैठक बसेकाले प्रकाशित गर्न समय नपुग्ने भएर बिहीवारका लागि सारिएको बोर्डले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने मंगलवार बताएका थिए ।  यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।