काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काममा रोक लगाएको छ।
वाइडबडी जहाज सी चेकका लागि बिना अनुमति नै दुबई हुँदै इटाली पुर्याएको भन्दै प्राधिकरणले अध्यक्ष अधिकारीलाई तत्कालका लागि निलम्बन गरिएको हो।
नेपालबाट इटालीको लागि सिधा उडान गर्ने गरिएको छैन। सी चेक गराउन पठाउने क्रममा अनुमति नलिनुका साथै खरिद प्रक्रिया पूरा नगरेको भन्दै तत्काललाई काममा रोक लगाइएको हो।
अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको छ। त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको प्राधिकरणले जनाएको छ।
निगम व्यवस्थापनले गत शुक्रबार वाइडबडी जहाज सी चेकका लागि सेड्युल फ्लाइटमार्फत् दुबई हुँदै इटाली पुर्याएको थियो।
नागरिक उड्डयन प्राधिकरणबाट एओसी लिएको वायुसेवा कम्पनीले आफ्नो वायुयानको नियमित मर्मत तथा सबै प्रकारको मेन्टेनेन्सका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली अनुसार गर्नुपर्छ।
नियामावली २०५८ को व्यवस्थाअनुसार प्राधिकरणबाट एओसी प्राप्त वायुसेवा कम्पनीले कुनै वायु यानको मेजर चेक, सी–चेक तथा ओभरल चेक अपको काम गर्दा सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
साथै निगमले इटालीको कम्पनीमा सी चेकका लागि जहाज लगेर थन्काएको छ। उक्त कम्पनी पनि उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त नभएको उनले बताए।
‘पहिलो कुरा जुन कम्पनीमा जहाज मर्मतका लागि लैजाने हो त्यो कम्पनी प्राधिकरणबाट अनुमति प्राप्त हुनुपर्छ। दोस्रो कुरा जहाज सी चेकका लागि लैजाँदा प्राधिकरणसँग अनुमति माग्नुपर्छ,’ भुलले भने, ‘तर यी दुबै नियमको उल्लंघन गरेर निगम व्यवस्थापनले जहाज इटाली पुर्याएर थन्काइसकेको छ।’
यसरी नागरिक उड्डयन ऐन विपरीत काम गरेपछि प्राधिकरणले अध्यक्षसहित पाँचै जनालाई निलम्बन गरी तत्काललाई काममा रोक लगाइएको हो।
यस विषयमा थप अनुसन्धानको लागि प्राधिकरणले आन्तरिक कमिटी गठन गरेको सूचना अधिकारी भुलले जानकारी दिए।
