काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटमा असार ४ गते डिल्ली बहादुर राउतको घरबाट २ करोड लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् ।
लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएका सुजन रसाइली, भोटेकोशी गाउँपालिका घर भएका ३१ वर्षीय भीम बहादुर तामाङ, ओखलढुङ्गा घर भएका ३६ वर्षीय मुना राज राई र प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा रहेका छन् ।
३८ वर्षीय प्रहरी हवल्दार सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा कार्यरत रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
डिल्लीराज राउतको मामाले लुटको योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनका मामा कुल बहादुर खत्री फरार छन् । लुटेरासँग मामाको सम्बन्ध पुष्टि भएसँगै पीडित छाँगाबाट खसेजस्तो भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई भन्छन्, ‘भान्जाको घरमा ठुलो परिमाणमा रकम भएको कुरा मामालाई मात्रै थाहा थियो, उनैको योजनामा लुटपाट भएको देखिन्छ ।’
राउतले वैदेशिक रोजगारीमा मानिसहरू पठाएर रकम सङ्कलन गरेका हुन् । त्यसबारे कुल बहादुरले वैदेशिक रोजगारीको सिलसिलामा चिनजान भएका ३० वर्षीय सुजन रसाइलीसँग कुरा गरेर लुट्ने योजना बनाए ।
कुल बहादुरले असार ३ मा दधिकोटमा लगेर घर देखाएर निगरानी गर्न लगाएको रसाइलीले प्रहरीसँग बताएका छन् ।
