काठमाडौं । खोटाङको रावा बेंसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
आइतबार (हिजो) गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने बताएका हुन् ।
अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । उक्त कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षबाट ५० वर्ष पुगेका अविवाहित महिलालाई पनि मासिक १५ सय भत्ता दिने गरी नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।
कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरूलाई आवश्यक अनुदान उपलब्ध गराएर सम्पूर्ण शिक्षा निःशुल्क गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शैक्षिक सत्र २०८२ देखि गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा कक्षा १ देखि अनिवार्य रूपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै, ज्येष्ठ नागरिक तथा असहायसँग स्वास्थ्य कार्यक्रम, गाउँपालिकाभित्रका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, उत्पादित कृषि उपजलाई बजारसम्म लान ढुवानीमा अनुदान प्रदान, बाँझो जमिनको प्रयोग गरी फलफूल खेतीलाई प्रवर्द्धन, गाउँपालिकालाई तेलहन तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम गाउँपालिकाले प्रस्तुत गरेको छ ।
