काठमाडौं । आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (१)ले आज (शनिबार) आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, “पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ ।”
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे वृहत् छलफल गरिने बताए । निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको समेत उनले उल्लेख गरे।
उनले भने, “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ ।”
